कांग्रेसको विधानमाथि गम्भीर ठट्टा

   सुदर्शन आचार्य

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिको हैसियतमा शेरबहादुर देउवाको आगमन जति शालीन र वैधानिक रुपमा भयो, उनको प्रस्थान भने कांग्रेसको इतिहासमै दुर्लभसँगै अलोकप्रिय हुने स्पष्ट संकेत देखा पर्दैछन् । देउवाको सभापतिको हैसियतबाट हुने प्रस्थानका बारेमा किन पनि अनुमान लगाइँदैछ भन्दा ‘मास बेस्ड’ पार्टीलाई जीवन्त राख्नका निम्ति अधीक लोकतान्त्रिक बनाइनुपर्नेमा देउवा स्वंयम प्रस्तावित विधानमा सभापतिलाई बलियो बनाउने बहानामा गुट निर्माण मा व्यस्त छन् ।
यसरी नेतृत्व आफैंले गुट निर्माण गरेर पुनः सभापति नै बलियो बनाइनुपर्ने प्रस्तावित विधान जोखिमयुक्त तवरले बहसमा लगिएबाट देउवामा पुनः सभापति बन्ने “लालसा पैदा भएको बुझ्न कठिन छैन ।
आजका मितिको नेतृत्वमा अग्रगामी बन्ने चिन्तन त देखिएन नै, नेपालको संविधानको धारा २६९ को उपधारा ४ को ख मा ‘संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्ने छ’ भन्ने व्यवस्थाको खिलाफमा पदाधिकारीसमेत मनोनित गर्ने प्रावधानसहितको विधान मस्यौदाउपर बहस प्रारम्भ गराइएबाट प्रष्टिन्छ कांग्रेस नेतृत्वको नियत । उसो त देउवा नेतृत्वको आजका मितिसम्मको कालखण्ड मुलुक र पार्टी लागि प्रियकर कहिल्यै हुन सकेन । उनको कालखण्डमा उनैलाई प्रयोग गरेर प्रजातन्त्रमाथि नै प्रहार गर्ने कामसमेत भयो । आज पार्टी सञ्चालनको मूल दस्तावेज विधान निर्माणमा पनि उनै देउवा सभापतिलाई बलियो बनाउने नाममा केन्द्रीकृत विधानको परिकल्पना गर्दैछन् । आज पार्टी सञ्चालनको मूल दस्तावेज विधान निर्माणमा पनि उनै देउवा सभापतिलाई बलियो बनाउने नाममा केन्द्रीकृत विधानको परिकल्पना गर्दैछन् ।
सभापतिलाई बलियो बनाउने नाममा “पश्चगामी विधान ल्याइयो र सोही विधानलाई महासमिति सदस्यले पनि लोभ, मोह र त्रासमा ‘ल्याप्चे’ लगाइदिए भने कांग्रेस त समाप्तिको बाटोमा जान्छ नै, कांग्रेस समाप्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संघीयतासहितको गणतन्त्रमासमेत पर्ने अवश्यंभावी छ । आजका मितिको कांग्रेसमा मुलुक सञ्चालनका निम्ति एउटा राजनेतामा हुनुपर्ने कुनै ‘गुण’ वा ‘भिजन’ त देखा परेन नै, आफ्ना सदस्य एवं समर्थकलाई आकृष्ट गर्ने प्रभावशाली व्यक्तित्व एवं विचार र नेतृत्वमा हुनुपर्ने वाकपटुतासँगै उत्प्रेरक आदर्शजस्ता केही पनि विषय प्राप्त हुन सकेनन् । यसबाट एउटा निष्कर्ष निकाल्न सकिन्छ, निसन्देह नेपाली कांग्रेसको गैरवशाली इतिहास त थियो । तर, पार्टीमै भविश्य देख्ने नेता एवं युवा नेताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा वर्तमान र भविश्य अन्यौलपूर्ण देखिन पुगेको छ । आज सुसुप्त तर निकै डरलाग्दोरुपमा पृथकतावादी समूह सक्रृय भएका छन् । संघीयता कांग्रेसको नारा यदि हो भने त्यही संघीयतामाथिको बहसका कारण ‘मजबुद राष्ट्रियता’ माथि नै कमजोर बनाउने खेल प्रारम्भ भएका छन् । वास्तवमा राष्ट्रियता भन्ने चिज मुलुकको आन्तरिक विषय मात्रै नभएर त्यसका कतिपय आयामहरु बाहिरी जगतसँग जोडिएका हुन्छन् । संविधानको कार्यान्वयनसँगै आफ्नै पार्टी नेपाली कांग्रेससमेतलाई समयानुकुल सञ्चालन गर्न नसक्दा प्राप्त हुने परिणामले न राष्ट्रियता, न त लोकतन्त्र, दुबैको रक्षा गर्ने क्षमता राख्दैन ।
गतिशील क्षमता नभएका भनिएका दिवंगत नेता सुशील कोइरालाले त चिरकाल स्मरण गर्ने संविधान नामक दस्तावेज नेपाली जनतालाई दिएर गए, तर कोइरालापछि पार्टीको नेतृत्वमा पुगेका देउवाको कार्यसञ्चालन हेर्दा यथास्थितिभन्दा फरक ढंगले पार्टी सञ्चालनको अपेक्षा राख्नु नै गलत थियो भन्ने पुष्टि स्वयमले गरिदिए । अब आम कांग्रेसजनसँगै मूलतः महासमिति सदस्यहरुले सोच्नैपर्ने बेला आएको छ, यथास्थितिमै रहेर समाप्त हुने कि, परिवर्तनशील बनेर टिक्ने ?
जनताका लागि राजनीति गर्ने व्यक्ति र समूह कांग्रेसमा पातलिँदै गयो । विरासत, ऐसआराम, उठन–पुठन जस्ता कामका निम्ति मात्रै आश्रयस्थल बन्न पुग्यो कांग्रेस । मुलुकका सामु देखिएका गम्भीर मुद्दाहरुले कांग्रेसलाई छुनै छाड्यो । उमेर ढल्किएको नेतृत्वले त पदमै रहेर मृत्युवरण गर्ने इच्छा राख्नुलाई एकछिन थाती राखौं, पार्टीलाई समयानुकुल राख्दा मात्रै भोेलिको नेपालको नेतृत्व गर्न सकिन्छ भन्ने युवासमेत उमेरले नेटो काटेका नेताकै घरमा बाक्लै ओहोर–दोहोर, त्यो पनि पद, पैसा र प्रतिष्ठाको आशक्तिमा घुमिरहनुलाई सामान्य मान्न सकिँदैन । युवामा देखिएको यो परनिर्भरतावादी सोच एवं निष्ठामा आएको विचलनले न कांग्रेस, न त लोकतन्त्र नै सुरक्षित हुने छ । तसर्थ अब कांग्रेसमा एकपटक उथल–पुथल ल्याउन जरुरी छ । विश्व राजनीतिमा कम उमेरमै मुलुकका निम्ति अतुलनीय योगदान दिनेहरुको लामै सुचि बनाउन सकिन्छ । ५७ वर्षको उमेरमा अमेरिकाको प्रथम राष्ट्रपति वनेर अमेरिकालाई संयुक्त बनाए जर्ज वासिङटनले । ५२ वर्षमा त्यो पनि एक कार्यकाल मात्र सोह्रौं राष्ट्रपति बनेर मुलुक निमार्णमा अतुलनीय योगदान दिए अब्राहम लिंकनले । ४३ वर्षमै राष्ट्रपति बनेर अमेरिका निर्माणमा योगदान दिँदादिँदै ३५ औं राष्ट्रपति जोन अफ केनेडीको हत्या भयो । रिचार्ड निक्सन, ग्रोभर क्लिभल्याण्ड, थियोडोर रुजवेल्ट जस्ता ४२र४५ कै उमेरमा राष्ट्रपति बनेर रिटायर्ड बने । जसको नाम अमेरिकाको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । अमेरिका मात्र नभई बेलायती प्रधानमन्त्रीहरु मार्गरेट थेचर, जोन मेजर, टोनी ब्लेयर र डेबिट क्यामरुन जस्ता नेताले आजीवन पदमै मात्र रहेर देश विकास गर्न सकिन्छ भन्ने सोच राखेनन् । उनीहरुले निश्चित कालखण्डपछि नयाँ पुस्तालाई मैदान खाली गरिदिए । नेपालका सन्दर्भमा भने सरकार वा पार्टी सञ्चालनमा रहेको राजनीतिक नेतृत्व पदसहित ब्रह्मनालमा नपुग्दासम्म मुक्ति पाइँदैन भनेझैं गर्दैछ । पुनः कांग्रेसको विधानकै बारेमा चर्चा गरौं । पार्टीमा नेतृत्वले आकर्षण बढाउन सकेन । सत्ता र शक्ति आफ्नै हातमा हुँदा पनि आफ्नै श्रीमतीसमेत जिताउन नसक्ने नेतृत्वका बारे धेरै कटाक्ष नगरौं । विधान पार्टी सञ्चालनको महत्वपूर्ण दस्तावेज हो । औपचारिकता नै सही, मुलुकका सातै प्रदेशमा विधानमाथि राय लिने काम पनि सम्पन्न भएको छ । तर, राय लिइँदा जिल्ला तहका केही पदाधीकारीबाहेक बुद्धिजीवी, युवा, विद्यार्थी, तरुण लगायतको उपस्थिति न्यून देखियो । यसको संकेत हो – एक त विधानमाथिको सुझाव संकलन एउटा नौटंकी मात्र हो भनेर बुझियो । दोश्रो, युवा, विद्यार्थी, तरुण र वुद्धिजीवीको पार्टीप्रति आकर्षणभन्दा पनि विकर्षण बढ्दै गएको देखियो । यसबाट विद्यमान पार्टी नेतृत्वले कति सिक्ला, त्यसलाई थाती राखौं, भोलिको काग्रेससँगै मुलुकको समेत नेतृत्व गर्छु भन्ने नेतृत्वलाई यो घटनाले अवश्य झस्काएको हुनुपर्छ ।
परिवर्तनलाई आत्मसाथ नगर्ने हो भने जनताका वीचबाट नेपाली कांग्रेस विस्थापित हुने छ । कांग्रेस विस्थापनका लागि अरु केही गर्नै पर्दैन, सभापति बलियो बनाउने भन्दै ल्याउन खोजिएको विधान जस्ताको त्यस्तै पाससँगै आगामी चौधौं महाधिवेशनबाट देउवालाई नेतृत्व सुम्पिदिए हुन्छ । हिजो, देउवा सभापति हुनुपूर्व पार्टी नेतृत्वको आकांक्षा राख्ने देउवा र रामचन्द्र पौडेल दुवैमा परिवर्तित सन्दर्भमा कांग्रेसको नेतृत्व गर्ने भिजन छैन, अझै देउवाको हातमा पार्टी पुग्यो भने त पार्टीले दक्षिणपन्थी बाटो समाउने छ, सो बाटोवाट अघि बढ्दा हुने कमजोरीका कारण राष्ट्रियताप्रतिको प्रतिवद्धतामा समेत गिरावट आउँछ भन्ने थियो । आज लगभग हिजोको त्यो विश्लेषण सत्यताको नजिक पुगेको छ । आज राजनीति पेशा बन्न पुग्यो । नेतामा हुनुपर्ने त्याग र समर्पणमा स्खलन आयो । पार्टीमा परिवर्तनका पक्षधरलाई ‘बैरी’ ठान्न थालियो । पार्टी नेतृत्व आर्थिकसँगै चरित्रका हिसावले पनि चुक्न पुग्यो, राजनीतिमा लागेका महिला नेतारकार्यकर्ताप्रति उनीहरुकै परिवार सन्तुष्टत हुन सकेनन् नै, कतिपयको घरवारसमेत भाँडियो । अर्का्तिर संगठन निर्माणमा महत्वपूर्ण मानिएका विभागहरु आजका मितिसम्म बन्न सकेनन् । सँगै, पार्टी्भित्रका आफ्ना आलोचकलाई तह लगाउनकै लागि अनुशासन समिति निर्माणमा भने हतारो गरिँदैछ । दिनको एकपटक आफ्नै निवासमा हाजिरी नजनाउने नेतारकार्यकर्तालाई शंका गरिँदैछ । कार्यकतालाई जनतासँग होइन, केवल आफैसँग मात्र जोडेर राख्ने प्रवृत्ति नेतृत्वमा हावी भएको छ । यसैबाट अनुमान लगाउन सकिन्छ, पार्टीको भविष्यका बारे । तसर्थ, यतिबेला पार्टी सञ्चालनको विधानउपर मात्र नभई, कांग्रेसलाई जीवन्त राख्न सक्ने नेतृत्वका बारेमा समेत बहस प्रारम्भ गर्न ढीला भइसकेको छ । लोकतन्त्रवादी भएकै कारण प्राप्त गरेको विरासत र गाउँ–गाउँका कार्यकर्ताको रगत र पसिनाकै कारण मात्र कांग्रेस टिकेको छ । कांग्रेस मेरा कारण टिकेको छ भन्ने भ्रम कोही नेतामा छ भने त्यो केवल भ्रममात्रै सावित हुँदैछ ।
विधानमा आमूल परिवर्तन नगरी यथास्थितिमा रमाउँदै आजकै नीतिबाट पार्टी चलाउन खोजियो भने कांग्रेसभन्दा अग्रगामी दलका रुपमा ‘विवेकशील साझा पार्टी’ वा अन्य दलको उदय टाढा छैन । महाथिर मोहम्मद, तेङ वा लि क्वान बनेर मुलुकको मुहारमा परिवर्तन ल्याउन नसके पनि पार्टी्भित्र सत्य बोल्न आँट गर्ने ‘क्राइस्ट’ त कोहि न कोही निस्कन सक्नुपर्दथ्यो । त्यसको पनि आजका मितिमा कांग्रेसभित्र अभाव खड्कियो । मानाौं सत्य कुरा बोल्दा भोलि नै प्राप्त गरिहाल्न लागेको राष्ट्रपति वा प्रधानमन्त्री पद नै गुम्लाझैं गरिँदैछ । तर, युवाले समेत बोल्ने आँट नगरेपछि अब कांग्रेसको भविश्यबारे संशय पैदा भएको छ ।
‘समृद्ध नेपालका निम्ति नयाँ कांग्रेस’ को अवधारणासहितको नीति र नेतृत्व आजको आवश्यकता हो । विधानउपर देशैभर बहस भए र हुने क्रम जारी छ । नेपाली कांग्रेसले पार्टी सञ्चालनरुपी विधान नामको दस्तावेज निर्माण गर्दा अन्य परिवर्तन त छँदैछ, विधानमा मूल परिवर्तन भने कृयाशील सदस्यहरुबाट सीधै मतदान गरेर सभापति चयन गरिने व्यवस्था हुँदामात्रै कांग्रेसको ओज बढ्न पुग्छ ।
आजका मितिमा कांग्रेसमा ४ लाख ७० हजार कृयाशील सदस्य छन् । मौजुदा सदस्यहरुवाट चुनाव जित्नका लागि पनि २ लाख ३५ हजारभन्दा माथि मत ल्याउनुपर्ने हुन्छ । यो व्यवस्था हुँदा एक त यति ठूलो संख्याका क्रियाशील सदस्यलाई खरिद बिक्री गर्न सम्भव हुँदैन भने दोश्रो, पार्टी नेतृत्वमा पुग्ने आकांक्षा राख्ने नेतृत्व ग्रामीण तहका कार्यकर्तासँग समेत जोडिनुपर्ने हुन्छ । विधानमा आमूल परिवर्तन नगरी यथास्थितिमा रमाउँदै आजकै नीतिबाट पार्टी चलाउन खोजियो भने कांग्रेसभन्दा अग्रगामी दलका रुपमा ‘विवेकशील साझा पार्टी’ वा अन्य दलको उदय टाढा छैन । सभापति देउवाको मझेरीमा बसेर सिंगै कांग्रेसको नेतृत्वको सपना देख्ने विमलेन्द्र निधिदेखि पूर्णबहादुर खड्का हुँदै रमेश लेखकदेखि विश्वप्रकाश शर्मा सम्मले एकपटक सोच्नेबेला आएको छ । सत्य बोलेर परिवर्तनको कित्तामा आफुलाई उभ्याउने कि, असत्यको साक्षी भएर काग्रेसलाई नै कोमिन्ताङ बनाउने ? रोजाई उहाँहरुकै हो ।जनताका आवाज मुखरित गर्ने थलो हो संसद । संसदमा आवाज उठाउने ब्यक्ति र ब्यक्तित्वका बारे जनतामा चर्चा हुने गर्छ । कांग्रेसको हकमा दलको नेता, उपनेता, सचेतक जस्ता ब्यक्तिको इमेजका बारे धेरै चर्चा गरिरहनु नपर्ला । यसले पनि देखाउँछ कांग्रेसमा देखाउन लायक ब्यक्तित्वको खडेरी । सँगै, टिकट वितरण, समानुपातिकको सूची निर्माण, निर्वाचनको प्रचार, विधानको मस्यौदा, पार्टीमा जिम्मेवारी बाँडफाँट र मुलुकमा घटेका दर्जनौं घटनाका सम्बन्धमा संसदमा खेलिने भूमिका आदिका विषयमा कांग्रेस नेतृत्वको भूमिका हेर्दा लाग्छ – आज कांग्रेस लोकतन्त्रका नाममा गम्भीर ठट्टा गर्दैछ । यही सोच, शैली र संस्कार कांग्रेसमा कायम नै रहिरहने हो भने एक दिन जनताले पनि नेपालमा कांग्रेस नाम गरेको पार्टी थियो भनेर ठट्टा गर्ने दिन टाढा छैन । समयानुकुल नीति र नेतृत्व चयन गर्न सक्दा लोकतन्त्रको विरासत प्राप्त पार्टी नेपाली कांग्रेसको भविष्य सुन्दर छ । तर, त्यसका निम्ति भोलिको परिवर्तित नेतृत्वले आजका मितिमा देखिएको बेथितिबाट पाठ सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *