वीपीको समाजवाद र मौजुदा कांग्रेसको संकट

सुदर्शन आचार्य

‘‘नेपालका हरेक परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने अवसर इतिहासले दिँदा पनि पछिल्लो समय पार्टीको लज्जाजनक हारको समीक्षासमेत वीपीको विचारलाई साक्षी राखेर गर्नुपर्ने अवस्थामा आज कांग्रेस पुगेको छ ।’’
विसं. १९९७ सालको राणाविरोधी आन्दोलनसँगै प्रजातन्त्र स्थापनाको अभियानमा महत्वपूर्ण भूमिकासमेत निर्वाह गरी नेपाली जनतालाई स्वतन्त्र नागरिक बनाउने वीपी कोइरालाको आज १०५ औं जन्मदिन हो । राणा प्रधानमन्त्रीलाई फाटेको कपडाको पोको उपहारस्वरुप दिएर तत्कालीन शासकको आँखा खोल्न साहसिक आँट गर्ने बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोराका रुपमा वीपी कोइरालाको जन्म विसं १९७१ भाद्र २४ मा भएको हो ।
तीक्ष्ण बुद्धि र स्मरण शक्तिका हिसावले मेघावी युवाका रुपमा छाप छोड्न त्यसताका सफल वीपीले प्रथम जननिर्वा्चित प्रधानमन्त्री समेतको इतिहास निर्माण गरे । पिता कृष्णप्रसाद कोइराला राणाहरुलाई अपहेलना गरेको आरोपमा भारतमा निर्वासनमा रहेका बेला बाबुसँग भारत आजादिको आन्दोलनसमेत बुझ्ने मौका पाए वीपीले । नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्वसंगै लोकतन्त्र स्थापनामा सफलता प्राप्तिपछि वीपीले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणा सार्वजनिक गरे । २०१२ सालमा कांगे्रसको वीरगञ्ज महाधिवेशनले आफूलाई समाजवादी पार्टीकारुपमा उभ्यायो ।
कांग्रेस त्यसताका समाजवादमा जानुमा भने पृथक कारण छ । जब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेको युरोपमा कार्ल मार्क्सले लेखेको पुँजी र कम्युनिस्ट पार्टीको घोषणापत्रले उथलपुथल ल्यायो । सोही घटनाबाट व्यक्तिको स्वतन्त्रताप्रति मार्क्सले गरेको उपेक्षाबाट वीपीले पाठ सिक्दै ब्यक्तिको आर्थिक समानता र न्यायपूर्ण ब्यवस्थामा मात्र नेपालको गरिवी हटाउन सकिन्छ भन्ने निष्कर्ष निकाले । त्यही निष्कर्षकै सेरोफेरोमा रहेर वीपीले अगाडि सारेको समाजवादी विचारबाट नै २०१२ सालमा कांग्रेसले आफूलाई समाजवादी पार्टीमा रुपान्तरण गरेको हो । सोही समाजवादी विचार नै २०१५ सालमा कांग्रेसको एकलौटी बहुमत ल्याउने विचार बन्न पुग्यो ।
वीपीकालीन समयमा जब ९० प्रतिशत गरिव एवं विपन्न जनताको प्रतिनिधि राज्यको नीति निर्माण तहमा पुग्दैन, तबसम्म जनता कुनै न कुनै रुपमा शोषित नै रहन्छन् भन्ने निष्कर्ष थियो वीपीको । त्यही कारण कांग्रेसले आफूलाई समाजवादी पार्टीका रुपमा उभ्याउनुपर्छ भन्ने स्पष्ट मान्यता थियो उनमा । र, त्यही मान्यताका आधारमा ०१५ सालमा जनताले कांग्रेसलाई दुई तिहाइ मत दिए । तर, ०१७ सम्म पुग्दा षडयन्त्रकारी राजा महेन्द्रबाट लोकतन्त्र बचाउन वीपीलाई सफलता प्राप्त भएन । सफलता त प्राप्त भएन नै, उनको आर्थिक न्याय र समानतावाट जनताको जीवनस्तर उठाउने मिसनमा समेत गम्भीर धक्का लाग्यो । आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको मिलनबिन्दुबाट मात्र राष्ट्रियता बलियो हुने वीपीको ठम्याइ थियो । राजनीतिक स्वतन्त्रता हुँदा आर्थिक विकास ढीलो हून्छ भन्ने शाही तर्कका आधारमा राजा महेन्द्रले प्रजातन्त्र नै बन्धक बनाइदिए । हुन त यो एउटा सानो आलेखमा वीपीकाबारे सबै विषयबस्तु सार्वजनिक गर्न सम्भव छैन । तथापि ०३३ सालको मेलमिलापको सन्दर्भ नउठाई वीपीको सम्झना अधुरै रहन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्कंदा वीपीमाथि बिराटनगरमा राजालाई बम हानेको, हवाइजहाज अपहरण गरेको, ओखलढुंगाको टिम्बुरवोटे काण्ड घटाएको जस्ता राजकाज सम्बन्धी ८ वटा मुद्दा थिए । पुस १६ गते विमानस्थलमा अवतरण हुनासाथ वीपी, गणेशमान, रामवाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खडका लगायत ६ जनालाई सिधै सुन्दरीजलस्थित सेनाको बन्दीगृहमा पु¥याइयो । र, वीपीलाई सोधियो–भारतलाई हेर्ने तपाईको दृष्टिकोण के हो ? हवाइजहाज अपहरणवाट प्राप्त ३० लाख केमा खर्च भयो ? दरबारले वीपीलाई सोध्नकै निम्ति प्रश्न तयार गरी तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई माथि उल्लेख गरिएका प्रश्नसँगै ८र१० वटा बुँदा टिपेरै दिएका थिए । तर, राजनेता वीपीले निर्भयतापूर्वक एक–एक प्रश्नको जवाफ दिए, विमान अपहरणबाट प्राप्त रकमका सम्बन्धमा वीपीको जवाफ थियो ‘जनताको पैसा जनताले नै खर्च गरे ।’
सुन्दरीजल थुनामा रहेका बखत जनकमान श्रेष्ठको अध्यक्षतामा बनाइएको विशेष अदालतमा मुद्दा चल्दा वीपीले आठैवटा (कतिपय घटना वीपीलाई जानकारीसम्म थिएन) मुद्दाको नैतिक जिम्मेवारी लिए । अदालतले वीपीलाई थुनामुक्त गर्याे । उनी उपचारका लागि अमेरिका पुगे । अमेरिकाबाट फर्कंदा केही अन्तराष्ट्रिय शक्तिले नेपालमा डेमोक्रेसी ल्याइदिने, विदेशी भूमिमै बसेर आन्दोलन गरिरहँदा प्रधानमन्त्रीसमेत बनाइदिने बचन पाउँदा उनले अस्वीकार गर्दै भने – प्रजातन्त्र नेपाली जनता आफैंले स्थापित गर्नुपर्छ ।
उपचारपछि वीपी सीधै नेपाल आए र थुनिए पनि । भनिन्छ – जेलबाट छुटेपछि एक दिन कोइरालानिवास मित्रपार्कमा अकस्मात एक अपरिचीत ब्यक्ति देखा पर्याे र भन्यो – वीपीवाबु तपाई निर्णय लिनुस, हामी राजसंस्था फालिदिन्छौ । संगै ती ब्यक्तिले थपे –तपाईलाई नेपालको पहिलो राष्ट्रपति बनाउँछौं ।
राजनीतिका चर्तुर खेलाडी वीपीले चौवीस घण्टाको समय मागे । उनीले आफू राष्ट्रपति बन्न तयार भएको सन्देश त दिएनन् नै, त्यत्रो २ सय वर्ष लामो इतिहास बोकेको राजसंस्थालाई मिनेटभरमा फ्याँक्न सक्ने शक्तिले आफूलाई राष्ट्रपति नै बनाउँदा पनि नेपालको स्थिरता, र आफ्नै कार्यकालका बारे गम्भीर संशय वीपीमा पैदा भयो । संगै उनले यीसबै घटना बुझेका एक कांग्रेस कार्यकतालाई जवाफ दिँदै भने – मैले राष्ट्रपति बन्ने प्रस्ताव तत्कालै ‘नो’ भनेको भए त्यो शक्तिले अर्कै पात्र खडा त गर्थ्यो नै, मुलुकका लागिसमेत बढी क्षति हुन्थ्यो ।
यसरी आफैंमाथि आइपुगेको ललीपरुपी षडयन्त्रकारी प्रस्तावलाई वीपीले समयमै बुझे र अस्वीकार गरिदिए । मित्रपार्क पुगेर वीपीलाई राष्ट्रपति बन्न प्रस्ताव गर्ने ब्यक्ति को थिए भन्ने त बाहिर आएन । तर, तिनै ब्यक्तिले तत्कालै जनमत संग्रहको घोषणा भने गराइदिए । उनको नेपालको राजनीतिमा दरिलो प्रभाव बुझ्न कठिन छैन ।
राजनीतिका तिनै चतुर खेलाडी वीपी कोइरालाले निर्माण गरेको पार्टी हो– नेपाली कांग्रेस । कांग्रेस कमजोर गराउँदामात्रै आफ्नो भविश्य सुरक्षित देख्यो राजतन्त्रले सधैं । आज दुई तिहाइको समर्थन प्राप्त नेकपाको सरकारको निसानामा पनि कांग्रेस नै छ । मातृकाप्रसाद कोइराला, तुलसी गिरी, विश्वबन्धु, परशुनारायण चौधरी, जस्ता नेपाली कांग्रेसमा लामो इतिहास बनाएका नेतालाई दरबारले सजिलै प्रयोग गर्याे । दरबारको प्रयोगमा हालका सभापति शेरबहादुर देउवा पनि पर्न पुगे, उनै देउवाले गोर्खाली राजाले न्याय गर्छन् भन्दै आफैंलाई बर्खास्त गर्ने राजाद्वारा मनोनित प्रधानमन्त्रीसमेत स्वीकार गरे ।
सत्ता नामको जाली खेलमा मातृकाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्म कोही अछुतो रहन सकेनन् । कतिपयले आज वीपी कोइराला जीवितै रहनुभएको भए के गर्नुहुन्थ्यो होला भन्ने प्रश्न पनि गर्ने गर्दछन् । स्पष्टरुपमा भन्न सकिन्छ – मातृका, तुलसी, विश्वबन्धु, परसुनारायण जस्ता दरबारले प्रयोग गरेको पात्रलाई वीपी कोइरालाले कांगे्रसमा भित्र्याउने चाहना राख्नुभएन, त्यसैगरी शेरबहादुर देउवाले पनि कांग्रेसमा प्रवेश पाउने नै थिएनन, सँगै कलश कांग्रेस लिएर नारायणगोपाल चोकतिरै हल्लिरहनुपर्ने बाध्यतामा उनी हुन्थे । वीपी जयन्तीका अवसरमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, शेखर कोइराला (क्याप्स) ले कांग्रेसलाई जनताको कांग्रेस बनाउने दृढ इच्छाशक्तिसहितको अठोट लिन सक्दामात्र वीपी कोइरालालाई स्मरण गरेको ठहरिनेछ । वीपी कोइराला सत्ता वा शक्तिको आशक्ति देखाउने नेता थिएनन् । सत्ताका निम्ति पार्टी नै तोड्न उद्दत कोही पनि नेता वीपी कोइरालालाई स्मरण गर्न समेत योग्य ठहरिन्न । हिजो वीपीले पारिवारिक प्रचण्ड दबावका बावजुद पनि परिवारका सदस्यलाई संसदको टिकटसम्म दिएनन् । आज पार्टीको नेतृत्व र नेताका लागि परिवार र आर्थिक लगानी गर्ने मात्र प्रिय पात्र देखिँदैछन् । यही बेथितिको कांग्रेसले राष्ट्रिय राजनीतिको भावी दिनलाई हाँक्नै सक्दैन भन्ने निष्कर्ष निकाल्न कठीन छैन । कांग्रेसजन आफ्नो महासमिति बैठकको पूर्वसन्ध्यामा छन, कांग्रेस यति नै बेला पार्टीको विधानको संरचनामा आमूल परिवर्तनसमेत गर्ने पक्षमा देखिएको छ । नेपालका हरेक परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने अवसर इतिहासले दिँदा पनि पछिल्लो समय पार्टीको लज्जाजनक हारको समीक्षासमेत वीपीको विचारलाई साक्षी राखेर गर्नुपर्ने अवस्थामा आज कांग्रेस पुगेको छ ।
वीपी कालीन समयमाझै घोर अन्धकारको समय कथम भोलि आयो भने विचारविहीन कांग्रेसका कति कार्यकर्ता कांग्रेसमा टिक्लान् ? आजको कांग्रेसको नेतृत्व कांग्रेस कार्यकर्तालाई के सिकाउँदैछ ?विचारद्वारा प्रशिक्षित नेता कार्यकर्ता किन रुचाइन्न ? पार्टी नेतृत्वमा आज किन आर्थिक मोह प्रधान बन्न पुग्यो ? थप प्रश्न उठ्छ – नेपालको राजनीतिक फाँटमा नेपाली कांग्रेसको औचित्य सकिएकै हो त ?
यदि लोकतन्त्रको स्थायित्वका निम्ति भरपर्दो शक्तिका रुपमा नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने नै हो भने कांग्रेसका दोस्रो पुस्ताका नेता ‘क्याप्स’(कृष्ण सिटौला, अर्जुन नरसिंह, प्रकाशमान र शेखर कोइराला) ले वीपी जयन्तीका अवसरमा आफू पनि सच्चिँदै पार्टीलाई पनि सच्याउने प्रतिवद्धता जनाउन जरुरी छ ।
मौजुदा कांग्रेसको नीति र नेतृत्व दुबै असफल भैसक्यो । पार्टी नेतृत्वमा कांग्रेसको समाजवादी नीति विपरीतको दृष्टिकोण हाबी छ । वीपी जयन्तीका अवसरमा वीपी विचारलाई साक्षी राखेर भन्नैपर्ने हुन्छ – कांग्रेस बेथितिमा जानुमा नेतामा नैतिकताको जति अभाव देखियो, त्यति नै कार्यकर्तामा पनि अनुशासनको आभाव देखिन्छ । नेतामा नैतिकता र कार्यकतामा अनुशासनको बल नहुँदासम्म वीपीको विचार र सात दशकको इतिहास बोकेको पार्टी मात्रै भनेर अबको पार्टी चल्दैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *