पञ्चतन्त्रका कथा र वर्तमान नेपालका सुकेधाराहरु

रमण नेपाल

पञ्चतन्त्रको सर्वप्राचीन हस्तलिखित प्रति नेपालमै भेटिएको पनि भनिन्छ । यस आधारमा हेर्दा पञ्चतन्त्रका रचनाकार विष्णु शर्मा सक्कली नेपाली सृजेता व्यक्तित्व हुन् । भूरि भूरि प्रशंंसनीय स्तरका दूरदर्शी पनि हुन् । उनका नीतिकथाहरु आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।
म आज त्यसै पञ्चतन्त्रको नीलवर्ण शृगाल कथा सम्झिरहेको छु ।
नेपालमा २०४७ पछि पटक–पटक सत्तामा उक्लेर शासन चलाउनेहरु तिनै नीलवर्ण शृगालहरु नै थिए । पञ्चतन्त्रमा रक्तवर्ण शृगालहरुको छुट्टै कथा छैन । नहुनुको पनि कारण छ । अगाडि जुनसुकै वर्णका भए पनि जनताका आँखामा भ्रम छरेर सत्तामा उक्लँदा शृगालहरु नीलवर्णकै हुन्छन् । साहुजीहरुको लोकतन्त्रमा समेत पनि सत्तामा उक्लनेहरु प्रायः नीलवर्ण शृगालहरु नै हुने गरेका छन् । नामको अर्थसङ्केत फरक भए पनि आधारभूत क्रियाकलाप हेर्दा आज पनि आफ्ना सनातन बानी बेहोर र हुइया गीतका साथ सत्ताका मन्चहरुमा उपस्थित हुन पुगेकाहरु नीलवर्ण शृगालहरु नै हुन् भन्न हिचकिचाइरहनु पर्ने अवस्था रहेन ।
नेपालको ०७ सालपछिको राजनीतिक इतिहासमा सत्तासीनहरुका वर्णान्तरित शृगालताको पोल खुलेका दृष्टान्तहरु अनेकौं छन् । सवैभन्दा पछिल्लो घटना बिमस्टेक सम्मेलन हो । सम्मेलनमा उम्रेको ऐँजेरुको कथा बेग्लै छ ।
गरीब राष्ट्रको ढुकुटीबाट लगभग पचास करोड रुपियाँ खर्च गरेर भर्खरै सम्पन्न बिमस्टेक सम्मेलन र रिट्रिटका लीलाहरु विद्युतीय सञ्चार माध्यम मार्पmत् हामी जनताले देख्यौँ, सुन्यौँ । माननीय भारतीय प्रधानमन्त्री मोदीजीका गीतमा सङ्गीत भर्ने क्रममा हाम्रा सम्माननीय प्रधानमन्त्री ओलीजीले संयुक्त सैन्य अभ्यासका प्रस्तावलाई सहज रुपमै अनुमोदन गर्नु भएको र पछि सदनमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदा प्रस्तावित संंयुक्त सैन्य अभ्यासलाई त्यत्तिकै सहज रुपमा ‘यो त तालिम हो, अभ्यास होइन’ भनिदिनुभएको पनि हामीले सुन्यौँ । उहिल्यै गिरिजाप्रसाद कोइरालाजीले पनि भारतसँग भएको टनकपुरसन्धिलाई समझदारी भनेर सदनलाई ढाँटेका थिए । गिरिजाकै बाटोमा दगुरेका ओलीजीले मात्र किन नढाँटुन् ? देश र जनतालाई ढाँट्नु त यस किसिमका सत्ताको चरित्र नै हो । विशेष चिन्ताको विषय के मात्र हो भने कूटनीतिज्ञहरुका अनुसार सम्भावित असरका आयामका दृष्टिले टनकपुरको समझदारी ढाँटभन्दा अहिलेको संयुक्त सैनिक अभ्यासको ढाँट अझ बढी खतरनाक समेत हुनसक्छ । नीलवर्ण शृगाल कथाले आफ्नो समयमा सत्ताको यही यस्तै ढाँट, छल र कपटमय क्रियाकलापको दृष्टान्त प्रस्तुत गरेको हो । हालका प्रधानमन्त्री स्पष्टीकरणका सवालमा सत्तापक्षकै सांदहरुले समेत गम्भीर प्रश्न उठाएका छन् । हामी जनता पनि जोर दिएर भन्छौँ मुलुकलाई कुनै खास गुटबन्दीको फेरमा नपार । देश र जनताका व्यापक हितविरुद्ध निर्णय गर्न प्रधानमन्त्री, मन्त्री हाकिम कसैलाई पनि नेपाली जनताले अधिकार दिएका छैनन् । अतीतदेखि वर्तमानसम्म नेपाली जनमनमा उठिआएका केही प्रश्नहरु अझै अनुत्तरित नै छन् । विशेष सम्बन्धका मित्र भनिने छिमेकी सरदारहरुको अगाडि परेपछि हाम्रा शीर्ष नेताहरुको राष्ट्रवाद रातसाँझ चितुवाले च्यापेको फुच्चे कुकुरजस्तै निरीह बन्छ किन ? जुनसुकै दलका जुनसुकै व्यक्त्त्विहरु सत्तामा उक्लँदा पनि हामी नेपाली जनताले पन्चतन्त्रको नीलवर्ण शृगालकथा नै सम्झनु पर्ने भइदिन्छं किन ? खास समयमा जनताले कमिला ठानेकाहरु पनि प्रायः धमिरा नै पर्छन् र सत्ताको भ¥याङ् उक्लेपछि कमिलाकै पनि प्वाँख उम्रन्छन् किन ? उत्तरको परिकल्पना नै उराठिलो लाग्छ ।
लाग्छ, हामी जनताले संघर्ष गर्न अझ सिङ्गै बाँकी छ । फोहरका भयङ्कर डङ्गुरहरु हटाउन अझ बाँकी नै छ । हामीकहाँ सम्विधान कसले बनाए ? धाराहरु कसले हाले ? अहिले विधेयकहरु बनाउने को हुन् ? नेताहरु आजीवन मिलिजुली सरकारी ढुकुटी खाने अभिप्रायका विधेयकहरु अहिले सदनमा जो प्रस्तुत भइरहेका छन्, ती त्यस्ता विधेयक कसले बनाउँछन् ? साँच्चिकै नेपाली जनताका वास्तविक प्रतिनिधिहरुले त्यतिसम्मका लुटतान्त्रिक विधेयक मस्यौदा गर्न र सदनमा पेस गर्न सक्छन् ? जनमनमा आज यिनै प्रश्नहरु खेलिरहेका छन् ।
संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी आदि इत्यादि अधिकारका धाराहरु जडान गरिएका छन् । नेपाली संस्कृतिमा धाराहरु नयाँ कुरा होइनन् । संबिधान नबन्दा र कानुन नहुँदाका दिनमा पनि हामी नेपालीहरु धाराबाट पानी पिउँथ्यौँ । हावाबाट सास लिन्थ्यौं । गाउँबस्तीहरुमा कतै प्राकृतिक छहरा थिए । कतै मानवनिर्मित धारा थिए । तराइमा इनार थिए । पछि चापाकल पनि आए । काठमाडौ उपत्यकामा सदाबहार पोखरीहरु थिए । कलात्मक ढुङ्गे धाराहरु यत्रतत्र निर्मित थिए । निरन्तर स्वच्छ पेयजल उपलव्ध रहन्थ्यो । अहिले पोखरीहरु निभिसके । रानीपोखरी पनि निभ्यो । उपत्यकामा ठाउँ ठाउँमा ढुङ्गे धारा छँदैछन् । घरघरमा कलधारा पनि आएका छन् । तर पानी आउँदैन । धारा छन् । पानी छैन । स्रोतमै छैन पानी । ठीक त्यस्तै नेपालको संविधानमा पनि मौलिक अधिकारका, मानवअधिकारका, धाराहरु जडान गरिएकाछन् । नागरिकका नाममा विभिन्न अधिकारका धारा जडान गरिएकाछन् । हामी जनताले समयमै बुझ्नुपर्ने कुरा के छ भने तीमध्ये धेरैजसो धाराहरु उपत्यकाका ढुङ्गे धारा र घरघरका कलधाराजस्तै हुन सक्छन् । धारा हुँदैमा पानी आउनुपर्छ भन्ने रहेन । संविधानमा नागरिकका नाममा अधिकार सपनाका आकर्षक धाराहरु भए पनि ती धाराहरुबाट अधिकारहरु चुहिएलान् भनेर मख्ख पर्ने अवस्था पनि रहेन । कति धाराहरु जडान गर्दै सुक्खा देखिइसकेका छन् । नेताहरुको ‘मिलिजुली खाउँ पचाउँ’को अस्वस्थ मनोविज्ञान र त्यसै मनोविज्ञानले नेतृत्व गरेको राजनीतिक, सामाजिक, आर्थिक व्यवस्थामा यी धाराहरु मात्र भ्रम पनि हुन सक्छन् ।
नेपाली समाज वर्तमानमा नभेटिए अतीतका पुराणहरु सुनेर पनि पर–उपकारी, स्वावलम्बी, देशभक्त, बहादूर पात्रहरु पहिचान गर्ने र तिनलाई रोलमोडेल ठानेर चल्न खोज्ने समाज हो । सामन्त युगमा नेपालका सत्तासीनहरुमा नेपाली जनताले रोलमोडेल चरित्र कुनै पाएनन् । आजको यो ठिमाहा पूँजीवादी राजनीतिक व्यवस्थाको सत्तामा पनि त्यस्ता चरित्र पाउने सम्भावना देखिएन । जनता आज आफै आत्मोपदेशको वाध्यतामा छौँ । हामी भन्छौं, अब राजनीतिमा भ्रमका पर्दाहरु च्यातेर हेर्न सिकौँ । सधैं नीलवर्ण शृगालकथा पढेर चित्त नबुझाऔँ । हामीले हाम्रो राजनीतमा अझै सिद्धान्तनिष्ठ र सृजेता नेतृत्व पाएका छैनौंँ । रोलमोडेल व्यक्तित्वहरु पाएका छैनौँ । यो यथार्थ हो । यसैले जनताको भाग्य भविष्य निर्माण गर्न नयाँ नयाँ बोध र बाटोका साथ हामी जनता आफैँ अगाडि बढौँ ।
अब अन्त्यमा,
एक छिनका लागि नीलवर्ण शृगाल महात्म्यलाई नै आजको उपलब्धि ठानेर सुन्दासुन्दै पनि स्पष्टताका लागि थप एउटा अतिरिक्त कुरा गरौं । आजको सदन संस्कृतिको अघोषित मुहान हिजोको निक्खरा सामन्ती संस्कृति नै रहेको देखियो । दृष्टान्त स्वरुप सत्ताका आडमा परजीवी जमातको निर्माण गर्ने र राष्ट्रको ढुकुटीलाई तिनकै पोषण–कोषमा परिणत गर्ने संंस्कृतिको पुनरुद्धार प्रयासमा कथित जनप्रतिनिधिहरु हतारिएको देखियो । निक्खरा सामन्तहरुको रजगज रहेको सन्त्रासका ती दिनहरुमा पनि नेपाली जनताले बरु सर्पको पूजा गरे । रक्तपायी परजीवीहरुको पूजा गरेनन् । कीर्ना, जुका, उडुस, उपियाँ र लामखुट्टेका पूजा गरेनन् । परजीवी महात्म्य र पूजाविधि पनि बनाएनन् । रगत चुसेर टिमिक्क टन्न भएका रक्तपायी जीवहरु जति नै राता पोटिला र चिटिक्कका भए पनि तिनका रक्तचूषण कलामा अभिभूत भएर प्रशंसामा गीत, कविता, र काव्य लेखेनन् । भजन, बालन बनाएनन् । नेपाली जनताले परजीवी जीव र तिनका संस्कृतिलाई यथासम्भव घृणा नै गरे । गर्दै आए ।
नेपाली समाज वर्तमानमा नभेटिए अतीतका पुराणहरु सुनेर पनि पर–उपकारी, स्वावलम्बी, देशभक्त, बहादूर पात्रहरु पहिचान गर्ने र तिनलाई रोलमोडेल ठानेर चल्न खोज्ने समाज हो । सामन्त युगमा नेपालका सत्तासीनहरुमा नेपाली जनताले रोलमोडेल चरित्र कुनै पाएनन् । आजको यो ठिमाहा पूँजीवादी राजनीतिक व्यवस्थाको सत्तामा पनि त्यस्ता चरित्र पाउने सम्भावना देखिएन । स्वभाव बनिसकेपछि लर्तरो चोटले बदलिँदैन । गाह्रो छ । परजीवी बनिसकेकाहरु स्वाभिमानी तथा स्वावलम्वी स्वभावमा बदलिन गाह्रोछ । यही बुझेर विद्वच्छिरोमणि कुलचन्द्र गौतमले राणाकालमै लेख्नुभएको थियो,प्रकृति वलवती छन, प्रेरणा यो फजूलै । अझै अगाडिका हाम्रा पूर्वजहरुले उहिल्यै लेखेका थिए, ‘सर्वस्य हि परीक्षन्ते स्वभावा नेतरे गुणान् । अतीत्य हि गुणान् सर्वान् स्वभावो मूर्ध्िन वर्तते । अर्थात् जसकसैको पनि परीक्षा गर्दा प्रथमतः उसका स्वभावको परीक्षा गर्नुपर्छ । किन भने व्यवहारमा पर्दा अन्य समस्त गुणहरुलाई उछिनेर स्वभाव नै अगाडि ढिम्किन आउँछ । किन भने स्वभावले नै टाउकाको नेतृत्व गर्छ ।’ उदाहरणका लागि धमिराहरुलाई सम्झौँ । धमिराको स्वभाव अगाडि उपस्थित वस्तुलाई भ्याएपाएसम्म खानु, धुल्याउनु हो । धमिराहरु राजकीय सत्तामा पुगे भने तिनले धमिराहरुकै पुस्तैनी हितका लागि खटेर विधि विधान बनाउँछन् । यो सर्वथा स्वाभाविक हो । यसबाट हामी मानव सभ्यताका विकासमा खास फरक पर्दैन । मानिसहरु सम्भावित विनाश रोक्न नयाँ कदम चाल्न सक्छन् । सङ्घर्षको आवर्तन थपिन्छ । त्यत्ति न हो । जनतासँग आफ्ना प्रगति र अग्रगमनका कदमहरु अनेकौंैं हुनसक्छन् । सत्तामा धमिराहरुकै बिगबिगी देखिन थालका अवस्थामा जनताले आफ्ना लागि रोल मोडेल जनताबीचमै खोज्न सक्छन् । खोज्दै आएका छन् ।
जहाँसम्म सपनाको कुरा हो, पूर्व विशिष्ट पदासीनहरु र भविष्यमा भूत हुने विशिष्ट पदासीनहरुकै विलासवैभवका लागि सुखुविधाको विधेयक पारित गर्न हतारिएको सरकारको करुणामय कार्यशैली र प्रवृत्ति देखिसकेपछि हामी जनताले यस्ता सरकारबाट जनताका लागि कुनै सुखसुविधाका सपना देख्नु पर्ने सम्भावना बाँकी रहेन । आपद्विपद् पर्दा राहत भेटिने सपना पनि देख्नु परेन । भ्रमका बोटहरु हुर्कन नपाउँदै उखेलिए । राम्रै भयोे ।
अव हामी पुनरपि महान् परिवर्तनको अपरिहार्यताप्रति ढुक्क हुन सक्छौं । नीलवर्ण शृगालहरुको अनिवार्य पतनप्रति पनि ढुक्क हुन सक्छौं । भविष्य उज्यालो छ । भविष्य जनताका हो । सक्कली समाजवादको हो । जनताले आफ्नो भविष्य आफै उमार्छन् । आफ्नो धारा आफै निर्माण गर्छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *