चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाउं अन्धकार

पशुपतिनगर÷हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो ।
सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेका अनुसार पूर्वी इलामको सूर्योदय नगरपालिकाको वडा नम्बर १, २, ३ मा एक÷एक वटा ट्रान्सफर्मर चट्याङबाट क्षति पुगेको हो । यस्तै सूर्योदय नगरपालिकाकै वडा नम्बर ११ मा २ वटा, वडा नम्बर १० मा एक र माईजोगमाई गाउँपालिकाका–३ मा एक वटा टूान्सफर्मरमा क्षति पुगेको छ ।
चट्याङबाट ५० केभिए र २५ केभिएका ट्रान्सफर्मरमा क्षति पुगेकाले मर्मतका लागि सङ्कलन गरी नयाँ ट्रान्सफर्मर जडानको काम चाँडै शुरु हुने विद्युत् प्राधिकरण इलामका प्रमुख घिमिरेले बताए । चट्याङबाट ट्रान्सफर्मरमा क्षति पुगेपछि इलामको सूर्योदय नगरपालिकास्थित पूर्वी पहाडी क्षेत्रको नाका पशुपतिनगर व्यापारिक केन्द्र पनि अन्धकारमा रहेको छ । चट्याङबाट क्षति पुगेका एक ट्रान्सफर्मरबाट क्षमताअनुसार न्यूनतम ६० परिवारदेखि २०० परिवारले विद्युत् उपभोग गर्दै आएको प्राधिकरण फिक्कलका प्रमुख रामकुमार देवानले बताए । यस्तै चट्याङकै कारण पूर्वी इलाममा ४०० बढी विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् मिटर र विद्युतीय सामग्रीमा क्षति पुगेको विद्युत् प्राधिकरणले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *