स्वास्थ्यका लागि अमृत भोजन ‘अंकुरित खाद्यपदार्थ’ (फाइदा र उमार्ने तरिका)

  डा रविनलाल श्रेष्ठ

 

प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ।

यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ।

अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो।

उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन्।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

अंकुरित खाद्यका फाइदाहरू

–    यस्ता खाद्य पदार्थमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ। उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ।

– अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ।

–    उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ, मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ।

–    अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।

–    अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ।

–    अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ।

–    यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ।

खाद्यपदार्थ उमार्ने तरिका 

सबैभन्दा पहिले राम्रो खालको अनाज, गेडागुडी वा तरकारीका बिउलाई राम्ररी धुनुपर्छ । त्यसपछि सफा र स्वच्छ पानीमा ६ देखि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ। बाँकी रहेको पानी फाल्ने र पुनः एकपटक सफा पानीले धुने।

अब सफा र पातलो सुतीको कपडामा पोको पार्ने र घाम नलाग्ने अँध्यारो ठाउँमा झुन्डाएर राख्ने वा पोको नपारिकन घाम नलाग्ने अँध्यारो ठाउँमा त्यतिकै राख्ने । यसरी राखेको २४ घण्टादेखि ७२ घण्टाभित्र यी पदार्थ उम्रन्छन्।

उमार्न सकिने खाद्य तत्वहरू

अनाज : गहुँ
गेडागुडी : मुङ्गको गेडा, चना, भटमास, बोडी आदि ।
बिउ : मेथीको दाना, ब्रोकाउली, बन्दागोभी, गाँजर, मुला, सलगम, चुकन्दर आदि ।

अंकुरित अन्न र केही अनुसन्धानहरु

–    अमेरिकामा १० हजार मानिसमा गरिएको एक सर्वेक्षणले अंकुरित मुङ हप्तामा ४ पटकभन्दा बढी खानाले मुटु रोग २२ प्रतिशतले कमी आउने देखाएको छ । त्यसैगरी नर्सहरूमा गरिएको अर्काे सर्वेक्षणले हप्तामा ४ पटकभन्दा बढी खानाले आन्द्राको क्यान्सर हुने सम्भावना ३५ प्रतिशत कम हुने तथा पुनः दोहोरिने सम्भावना ६५ प्रतिशतले कम हुने देखाएको छ।

–    अंकुरित मुङमा पाइने खाद्य रेसाहरूले पित्तलाई सोस्छ जसले गर्दा रगतमा कोलेस्टेरोलको मात्रा कम हुन मद्दत गर्दछ । यसमा ग्याँस बनाउने तत्वहरू कम मात्रामा हुन्छन् जसले गर्दा कुनै पनि पाचन प्रणाली सम्बन्धित रोगहरूमा यसलाई खान सकिन्छ।

–    अंकुरित मुङमा भिटामिन ‘सि’ र ‘के’ प्रचुर मात्रामा पाइन्छ।

–    अंकुरित ब्राउन राइस खाँदा मधुमेहमा फाइदा पुग्छ । यसबाट मुटु र रक्तनलीसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । यस्तै, निरास तथा रिस जस्ता भावना कम हुन्छन् र थकान पनि चाँडै मेटिन्छ।

–    अनाजहरू तथा गेडागुडी उमार्दा अमिनो एसिडहरू र बि ग्रुप भिटामिनहरू र सरल चिनीको मात्रा बढ्छ भने प्रोटिन र जटिल कार्वाेहाइड्रेड सुपाच्य हुन्छन्।

–    अंकुरित ब्रोकाउलीको बिउमा इसोथाइसाइनेट्स नामक तत्व पाइन्छ जसले मूत्रथैली, स्तन तथा पेटको क्यान्सर हुनबाट बचाउँछ।

–    अंकुरित ब्रोकाउलीको बिउ गर्भवतीले नियमित खाएमा बच्चाहरूलाई जीवनभर मुटु रोग नलाग्न सक्छ।

–    फापरमा अंकुरित गर्न राखेको २४ घण्टापछि कलेजोमा बोसो जमेर हुने रोगहरूलाई निको पार्ने तत्वहरूको जन्म हुन्छ । यसमा रुटिन र क्युसर्टिन भन्ने तत्वहरूको पनि वृद्धि हुन्छ।

–    अंकुरित केराउमा सुपाच्य खनिज तत्वहरू जिंक र म्याग्नेसियमको वृद्धि हुन्छ । यसका लागि केराउ ४ दिनसम्म उमार्नुपर्छ । जिंकले छाला र कपाल राम्रो बनाउँछ र साथै विर्यको गुणस्तरमा वृद्धि गर्दछ ।

(डा रविनलाल श्रेष्ठ योग तथा प्राकृतिक चिकित्साका विज्ञ हुनुहुन्छ । हाल वेलनेस हस्पिटल बाँसबारीमा कार्यारत हुनुहुन्छ। ) 

                                                                                                                                                        ( स्रोत स्वास्थय खबर)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *